नियम १६
व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकार
: व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :
(क) सम्बन्धित बाल कल्याण गृह, बाल सुधार गृह, अनाथालय वा सुस्तमनस्थिति केन्द्रको दीर्घकालीन नीति र योजना तर्जुमा गरी स्वीकृतिको निमित्त जिल्ला बाल कल्याण समिति मार्फत केन्द्रीय बाल कल्याण समितिमा पठाउने ।
(ख) स्वीकृत नीति र योजना अनुरुप वार्षिक कार्यक्रम र बजेट स्वीकृत गर्ने ।
(ग) वार्षिक कार्यक्रम संचालन गर्नको निमित्त आवश्यक स्थानीय स्रोतको खोजी गर्ने र प्राप्त स्रोतको परिचालन गर्ने ।
(घ) बाल कल्याण गृह, बाल सुधार गृह, अनाथालय तथा सुस्तमनस्थिति केन्द्रमा रहेका बालकलाई प्रदान गरिने शिक्षा तालिम र बस्ने, सुत्ने, खाने, लगाउने लगायतका अन्य सुविधा सम्बन्धमा उपयुक्त व्यवस्था गर्ने गराउने ।
(ङ) बालकको रुचि वा ज्ञानको आधारमा तिनीहरुलाई व्यावसायिक तालिम वा पठन पाठनमा संलग्न गराउने व्यवस्था गर्ने, गराउने ।
(च) बालकको शारीरिक विकासको निमित्त खेलकूद, मनोरन्जन तथा सांस्कृतिक कार्यक्रम लगायत अन्य अतिरिक्त क्रियाकलापको व्यवस्था गर्ने गराउने ।
(छ) बाल कल्याण गृह, बाल सुधार गृह, अनाथालय वा सुस्तमनस्थिति केन्द्रको कार्य प्रगतिको समीक्षा एवं मूल्यांकन गर्ने गराउने ।
(ज) बाल कल्याण गृह, बाल सुधार गृह, अनाथालय वा सुस्तमनस्थिति केन्द्रको संचालन सम्बन्धमा मन्त्रालय, केन्द्रीय बाल कल्याण समिति, जिल्ला बाल कल्याण समिति वा बाल कल्याण अधिकारीले दिएका सुझाव तथा निर्देशनको पालन गर्ने, गराउने ।